श्रमिककै भेलामा नगएर श्रममन्त्री विष्टले दुखाए लाखौ नेपालीको चित्त

news-details

एकपछि अर्को श्रमिकको पक्षमा लोकप्रिय निर्णय गर्दै आएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिककै आवाज उठाइन लागेको कार्यक्रमलाई वेवास्ता गरेर सहभागी नहुने भएपछि लाखौ श्रमिकको चित्त दुखाएका छन् ।

२० लाखभन्दा बढि श्रमिक बस्ने मध्यपूर्वमा हुन लागेको कार्यक्रममा प्रमुखअतिथि बनाइएका मन्त्री विष्टले कार्यक्रममा सहभागी नै नहुने जवाफ दिएपछि आयोजक मात्र नभएर प्रवासमा रहेका लाखौ नेपाली आश्चर्यचकित मात्र बनेका छैनन् आफुहरुको अपमान भएको महसुस गरिरहेका छन् ।

बिहिबारबाट यूएईमा शुरु हुन लागेको गैरआवासीय नेपाली संघको छैटौ मध्यपूर्व भेलामा प्रमुख अतिथिकारुपमा निमन्त्रणा गरिएका मन्त्री विष्टले अन्तिम समयमा आएर उक्त कार्यक्रममा सहभागिता नजनाउने भएपछि अहिले उनको विकल्पमा आयोजकले खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलाई प्रमुख अतिथि बनाएको छ ।

‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार : ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार’ भन्ने नाराका साथ यही अगष्ट २३ देखि २५ सम्म यूएईमा हुन लागेको एनआरएनएको क्षेत्रीय भेलामा प्रमुख आतिथ्यताका लागि आयोजकले २ महिना अघि नै मन्त्री विष्टलाई निमन्त्रणा पत्र पठाएको थियो ।

यसबीचमा आयोजक देशको एनआरएनए, मध्यपूर्व संयोजक आरके शर्मा, आइसीसी सचिव डिबी क्षेत्री, एनआरएनए सचिवालयलगायतले पटक–पटक मन्त्री विष्टलाई सहभागिताका लागि आग्रह गरेका थिए । तर अन्तिम समयमा आएर मन्त्री विष्टले कुनै कारण विना नै कार्यक्रममा सहभागी हुन इन्कार गरेपछि अन्तिम समयमा आएर सरकारको मन्त्रीका रुपमा खानेपानी मन्त्री मगरलाई आयोजकले प्रमुख अतिथि बनाएको हो ।

मन्त्री मगरसहित पूर्व श्रम मन्त्री रमेश लेखक, श्रममन्त्रालयका उपसचिव विपिन आचार्यलगायत एनआरएनएका विश्वभरका प्रतिनिधिहरुको सहभागिता रहने कार्यक्रममा खाडीमा रहेका नेपालीहरुको समस्या र समाधानका उपायका विषयमा छलफल हुने छ ।

‘९९ प्रतिशत नेपाली श्रमिक रहेको खाडीमा हुने कार्यक्रममा श्रम मन्त्री आफैले चासो राखेर जानु पर्नेमा हाम्रो लाखौ अनुरोधलाई तिरस्कार गर्नुभयो’ एनआरएनएका एक अभियन्ताले दुखेसो पोखे ।

मन्त्री विष्टले सरकारी कुटनैतिक संयन्त्र प्रयोग गरेर अगाडि बढ्नुको सट्टा यूएईका समकक्षी मन्त्री भेटाइदिने भए मात्र कार्यक्रममा सहभागी हुने घुमाउरो जवाफ दिएर आयोजकलाई अफ्ठ्यारो पारेको बुझिएकोछ ।

मन्त्री विष्ट प्रसंसाको भोगी भएकाले कार्यक्रममा आफ्नो आलोचना हुन सक्ने डरले जान नमानेको केहीको आशंका छ । अर्कोतर्फ एनआरएन भित्र मेनपावर व्यवसायीहरु पनि भएकाले उनीहरुले विरोध गर्ने डरले मन्त्री विष्ट एनआरएनएको कार्यक्रममा नजाने मनशायमा पुगेको हुन सक्छन् ।

विशेषगरी वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको ठुलो हिस्सा रहेको मध्यपूर्वमा नेपाली कामदारहरुको समस्याको चाङ पनि ठुलै छ । यीनै समस्यालाई मुल मुद्धा बनाएर हुन लागेको क्षेत्रीय भेलामा सरोकारित मन्त्रालयका मन्त्री विष्ट सहभागी हुनेमा सबैको आशा थियो ।

‘हामी श्रममन्त्रीको हरेक निर्णयबाट धेरै उत्साहित थियौं, त्यही भएर उहाँलाई यूएईमा स्वागत गर्न आतुर थियौ, हाम्रा धेरै समस्या सुनाउनु थियो तर उहाँ नआउने खवर पाएपछि धेरै दुःख लागेको छ’ यूएईमा कार्यरत झापाका कुवेर कार्कीले रोजगार मञ्चलाई बताए ।

मर्यादित तथा सम्मानित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीका क्रममा वा व्यवसाय सञ्चालनका लागि मध्यपूर्वका देशमा रहेका नेपालीहरुले भोग्नुपरेको समस्या पहिचान गरी नेपाल सरकारको ध्यानाकर्षण गराउन खोजिएको उक्त भेलामा स्वयं श्रममन्त्रीको सहभागिता हुन्छ र उनले यी आवाज सुनेर यी प्रवासी नेपालीहरुको पक्षमा केहि प्रतिवद्धता व्यक्त गर्छन भन्ने आशा अन्तत निराशामा परिणत भएको छ । यदि मन्त्री विष्ट व्यस्तताका कारण जान नसकेको भएपनि १ दिनका लागि कार्यक्रममा सहभागी भएर श्रमिकका आवाज सुनेर आउन सक्थे ।

विगतदेखिनै एनआरएनएले सरकारसँग सहकार्य गर्दै विभिन्न भेला तथा कार्यक्रम गर्दै आएको छ । यही अक्टोवरमा काठमाडौंमा हुन लागेको एनआरएनएको विज्ञ सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्दैछन् भने केही समय अगाडि यूरोपमा भएको एनआरएनएको क्षेत्रीय भेलामा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सहभागिता जनाएका थिए । तर, मध्यपूर्वमा हुन लागेको अहिलेको भेलामा २० लाखभन्दा बढी नेपाली श्रमिकहरुको प्रतिनिधित्व आवाज सुन्न श्रम मन्त्री विष्ट जानुपर्नेमा उल्टै सहभागिता नजनाउनु ती लाखौ नेपालीप्रतिको अपमान होइन र ?

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *