‘वैदेशिक रोजगार सञ्चय कोष’ कार्यदल गठन गर्ने निर्णयप्रति एनआरएनएको स्वागत

news-details

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार सञ्चय कोष स्थापनाका लागि कार्यदल गठन गर्ने निर्णय गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यस निर्णयको स्वागत गर्दै मन्त्री गोकर्ण विष्टको सकारात्मक भूमिकाप्रति आभार प्रकट गरेको छ ।

संघले वैदेशिक रोजगारीमा गएका कामदारको हकहितका लागि वैदेशिक रोजगार सञ्चय कोष स्थापना गर्न केहि वर्षदेखि सरकारसँग माग राख्दै आएको छ । गैरआवासीय नेपाली संघ र कर्मचारी सञ्चय कोषबीच वैदेशिक रोजगारमा रहेका कामदार कर्मचारीहरुलाई कोषको दायरामा ल्याउने सम्बन्धमा २०७३ साल आषाढ १० गते समझदारी पत्रमा हस्ताक्षर पनि भएको थियो । सो समझदारी पत्रमा भएका शर्त तथा अवस्थाहरुलाई अक्षरस पालना गर्न विगत दुई कार्यकालमा कार्यदल गठन भई आवश्यक काम कारवाही भइरहेको छ ।

‘गैरआवासीय नेपाली संघको पहलमा कर्मचारी सञ्चय कोष, वैदेशिक रोजगार सञ्चय कोष सञ्चालन नियमावली–२०७३ को मस्यौदा तयार गरिएको थियो । संघले पटक–पटक गरेको पहल अनुरुप आएको मन्त्रालयको यस कार्यदल गठन गर्ने निर्णयबाट हामीमा निकै उत्साह मिलेको छ’ संघका प्रवक्ता भुषण घिमिरेले भने– ‘हजारे अभियानको नाममा संघले प्रस्ताव गरेको अभियानलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तदारुकताका साथ निकट भविष्यमा कार्यन्वयनमा ल्याउने अपेक्षा हामीले गरेका छौ ।’

यस कदमले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सामाजिक सुरक्षाको प्रत्याभूती गर्नुका साथै कामदारहरुको बचतको बानी बसाल्ने बताउदै एनआरएनएले यस कोषमा गरिएको बचतमार्फत कामदारले भविष्यमा कुनै पनि प्रकारको आर्थिक संकटको सामना गर्नुनपर्ने तथा देशले पनि यसबाट संकलित रकमलाई जलविद्युत, कृषि लगायतका अन्य विकासका क्षेत्रमा लगानी गर्न सक्ने जनाएको छ ।

यस्तै विदेशी नियोगमार्फत विदेशमा पुनः श्रमस्वीकृति कार्यान्वयनमा लाने, श्रम सीप बैंक स्थापना गर्ने, विदेशस्थित नियोगबाट मागपत्रको अनुगमन गर्ने र अनलाइन प्रणाली मार्फत विभिन्न निकायहरुलाई जोडी कामदार र सरकारी निकायबीच समन्वय गराउने तर्फ पनि सरकारले सकारात्मक पहल थालेको भन्दै संघले सरकारप्रति आभार प्रकट गरेको छ ।

छोटो समयमा नै वैदेशिक रोजगारको क्षेत्रको सुधारका लागि नेपाल सरकारबाट पछिल्लो समयमा भएका विभिन्न महत्वपूर्ण निर्णयले विदेशमा रहेका नेपाली कामदारहरुलाई निकै उत्साह मिलेको भन्दै संघले यसप्रकारको महत्वपूर्ण कदमहरुको सधैं स्वागत गर्दै सहयोग तथा सहकार्यका लागि प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *