१५ बुँदे घोषणापत्र जारी गर्दै एनआरएन युरोप क्षेत्रीय बैठक सम्पन्न

news-details

गैरआवासीय नेपाली संघको ११ औं युरोपेली क्षेत्रीय बैठक १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ९ औं युरोपीय महिला बैठकसमेत रहेको दुई दिने बैठक लक्जेमबर्गमा सम्पन्न भएको हो ।

बैठकले नयाँ संविधानले गैरआवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृति अघिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि कार्यान्वयनमा अझै आउन नसकेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

आगामी असोज महिनासम्म कानून बनाइ प्राप्त संबैधानिक अधिकारको पूर्ण उपभोगको लागि तत्काल स्पष्ट कानून निर्माण गरी नागरिकता जारी गर्न बैठकबाट माग गरिएको छ ।

घोषणापत्रमा भनिएको छ, ‘वैठकमा सहभागी माननीय मन्त्रीज्यू तथा संघीय संसदका माननीयज्यूहरुबाट यस विषयमा प्राप्त आश्वासन र सदासयता प्रति हार्दिक आभार प्रकट गर्दछौ।’

बैठकमा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइशले, संघीय संसदका सांसदद्वय रामकुमारी झाक्री र डा सूर्य पाठक, पूर्वमन्त्री हिसिला यमी, बेल्जियम नेदरल्याण्ड र लग्जेम्बर्गका लागि नेपाली राजदुत महामहिम लोकबहारदुर थापाको उपस्थिति रहेको थियो ।

यस्तै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, संरक्षक जीवा लामिछाने, संरक्षक रामप्रताप थापा, अन्तराष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, एसिया, अमेरिका, मध्यपूर्व र युरोपका २८ देशबाट करिब चार सय प्रतिनिधिहरुको उपस्थिति रहेको प्रबक्ता भूषण घिमिरेद्वारा जारी घोषणापत्रमा उल्लेख छ ।

बैठकको सफलताका लागि लग्जेम्बर्गका प्रधानमन्त्री जाभियर बेटेलले भिडियो सन्देश तथा प्रमुख संरक्षक डा। उपेन्द्र महतोले लिखित सन्देश पठाएका थिए ।

यस्ता छन् १५ बुँदे घोषणापत्र
१ नयाँ संविधानले गैरआवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृति अघिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि कार्यान्वयनमा अझै आउन सकेको छैन । आगामी आश्विन महिनासम्म कानून बनाइ प्राप्त संबैधानिक अधिकारको पूर्ण उपभोगको लागि तत्काल स्पष्ट कानून निर्माणगरी जारी गर्न यो बैठक नेपाल सरकार समक्ष जोडदार अनुरोध गर्दछ । वैठकमा सहभागी माननीय मन्त्रीज्यू तथा संघीय संसदका माननीयज्यूहरुबाट यस विषयमा प्राप्त आश्वासन र सदासयता प्रति हार्दिक आभार प्रकट गर्दै नागरिकता सम्बन्धी प्राप्त उपलब्धीलाई संस्थागत गर्न र थप अधिकारका लागि पहल जारी राख्ने निर्णय गरिन्छ ।

२. नेपाल सरकारको सहकार्यमा गैरआवासीय नेपाली संघले अक्टोवर १२-१४, २०१८ मा काठमाडौंमा आयोजना हुने पहिलो विश्व विज्ञ सम्मेलन First NRN Global Knowledge Convention को पूर्वतयारी स्वरुप यस बैठकमा सीप, ज्ञान र नवप्रवर्धन ‘Skill, Knowledge and Innovation’ सत्रको आयोजना गरियो । यसमा शिक्षा, स्वास्थ्य, कृषि, फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपत्रहरु प्रस्तुत भए । विश्व विज्ञ सम्मेलन सफल पार्न युरोपका सबै राष्ट्रिय समन्वय परिषदहरुलाई यस बैठक आग्रह गर्दछ ।

३. नेपालको बढ्दो बेरोजगारी समस्यको अन्त्य गर्न गैरआवासीय नेपाली संघको सहकार्यमा प्राबिधिक शिक्षा प्रणाली (भोकेशनल शिक्षा) लागु गर्न प्रस्ताव गर्दै सरकारसंग यसमा आवश्यक सहकार्य गर्ने यो बैठक निर्णय गर्दछ ।

४. गैरआवासीय नेपाली संघ महिला फोरमले हालसम्म गरेका कार्यहरुको प्रसंशा गर्दै महिलाहरुको उद्यमशिलता विकास तथा लगानी अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने र महिलाहरुलाई लगानीका क्षेत्रमा अघि बढाउनुपर्ने निर्णय गरिन्छ । गैरआवासीय नेपाली संघ महिला फोरमको सक्रियतामा नेपालमा गत वर्षबाट शुरु भएको सिप विकास तालिमलाई निरन्तरता दिने निर्णय गरिएको छ । गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउने अभिप्रायले हरेक राष्ट्रिय परिषदमा यथासम्भव महिला सहभागिताको सुनिश्चितता गराउन आग्रह गर्ने निर्णय गरिन्छ ।

५. विदेशमा एकल महिलाबाट जन्मिएका बच्चाहरुलाई सहजतापूर्वक नेपाली नागरिकता दिने व्यवस्था अविलम्ब गराई ति बच्चाहरुलाई विदेशबाट स्वदेश जान यात्रा अनुमतिपत्रको व्यवस्था मिलाउन पनि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिन्छ ।

६. नेपाल सरकारले हालसम्म नर्वे, थाइल्यान्ड, श्रीलंका, मौरिसस, अष्ट्रिया, पाकिस्तान, चीन, कोरिया, कतार र भारतसंग दोहोरो करमुक्ति सम्झौता सम्पन्न गरेको छ । लगानीकर्ताको लगानीको सुरक्षाका निम्ति अनिवार्य शर्तको रुपमा रहने करमुक्ति सम्झौता (डिटिएए) र विप्पा सम्झौता नभएका मुलुकबाट ठूलो लगानी आउन नसकेको निश्कर्षसहित अन्य देशहरुमा समेत सम्झौता प्रक्रिया अघि बढाउन सरकारसंग अनुरोध गर्ने निर्णय गरिन्छ । यसले गैरआवासीय नेपाली र विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने बैठकको ठहर छ ।

७. गैरआवासीय नेपाली संघद्वारा संचालित लाप्राक नमुना वस्ती, कार्यालय भवन, शंखमूल पार्क, उज्यालो नेपाल, पत्रकार महासंघ केन्द्रिय कार्यालयमा पुस्तकालय स्थापना लगायतका परियोजनाहरु आगामी अक्टुवरभित्र सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गर्दछ । यसै वर्ष बेलायतमा औपचारिक रुपमा घोषणा गरिएको नेपालमा १० अर्ब लगानी सुनिश्चित गर्ने कार्यक्रम तत्काल अघि बढाउन यो बैठक पुन प्रतिबद्धता जाहेर गर्दछ ।

८. नेपालमा बार्षिक २० लाख पर्यटक भित्र्याउने उद्देश्य सहित नेपाल सरकारले हालै घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ कार्यक्रमप्रति ऐक्यवध्दता जनाउँदै सो अभियानलाई सफल बनाउन अत्याधिक पर्यटकहरु भित्र्याउन युरोपस्थित नेपाली दूतावासहरु तथा नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरुसंग समन्वय गर्न युरोपका सबै राष्ट्रिय परिषदहरुलाई अनुरोध गर्दछ । यो अभियानलाई सफल बनाउन नेपाल बायुसेवा निगमको हवाइ सेवा युरोप क्षेत्रमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरिन्छ ।

९. युरोप क्षेत्रमा बढ्दै गएको मानव तस्करी रोक्न गैरआवासीय नेपाली संघ सरकारसंग सहकार्य गरेर अघि बढ्ने निर्णय गर्दछ । त्यसका लागि आवश्यकता अनुसार कानुनी व्यवस्थाका लागि सरकारसंग आग्रह गर्ने निर्णय गर्दछ ।

१०. गैरआवासीय नेपालीहरुको उपस्थिति र समस्याहरु बढ्दै गइरहेको पोर्चुगल, इटाली लगायतका देशहरुमा नेपाली दुतावास राख्नु पर्ने महशुश बैठकले गरेको छ र नेपाल सरकारलाई यस तर्फ यथाशीघ्र आवश्यक कदम चाल्न अनुरोध गर्दछ ।

११. युरोप क्षेत्रमा बसोबास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मुलधारमा समाहित गर्दै नेपालको सर्वाङ्गीण विकासमा हातेमालो गर्न सरोकारवाला व्यक्ति तथा निकायहरुलाई अनुरोध गर्ने निर्णय गरिन्छ । साथै युरोप क्षेत्रका गैरआवासीय नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, लिपि, संस्कार, संस्कृति सिकाउने कार्य गर्न यो बैठक अपील गर्दछ ।

१२. गैर आवासीय नेपाली संघको आगामी अक्टुवरमा हुने संघको विधान अधिवेशनमा प्रस्तुत हुने विधान संशोधनको प्रस्ताव माथि छलफल भयो । प्रस्तावित संशोधनमा अगस्त ३० तारिख भित्र सुझाव तथा सल्लाह पेश गर्न सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरुलाई अनुरोध गरिन्छ ।

१३. नेपालको बिद्यमान निर्बाहमुखी कृषी प्रणालीलाई ब्यबसायिकीकरण तथा औद्योगीकरण गरी ‘सम्बृद्धीको आधार कृषि कृषि अभियानमा गैरआवासीय नेपाली भन्ने भावका आधारमा विदेशमा सिकेका प्रविधि, सीप र अनुभव सहित गैरआवासीय नेपालीहरुको कृषि क्षेत्रको समग्र विकासमा सहभागिता बढाउँदै जाने प्रतिवद्धतता प्रकट गर्दछ ।

१४. यस बैठकमा युरोप क्षेत्रमा कृयाशील २८ राष्ट्रिय समन्वय परिषदहरुको कृयाकलापबारे शुष्म छलफल गरियो । आगामी दिनमा अझै गैरआवासीय नेपालीहरुको हकहितको लागि सामाजिक तथा आर्थिक कृयाकलापलाई बढावा दिदै सम्बन्धित देशका स्थानीय निकाय र सरकारसँग सहकार्य गरी नेपाल र नेपालीका हितमा कार्यहरु गर्न पहल गर्ने निर्णय गर्दछ । आगामी युरोपीय बैठक इटालीमा र त्यस पछिको क्रमश आयरल्याण्ड र फिनल्याण्डमा गर्ने पनि निर्णय गरियो ।

१५. यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनुहुने नेपाल सरकार, लग्जम्बर्ग सरकार बेनेलक्सका लागि बेल्जियमस्थित नेपाली दूतावास, सम्पूर्ण एनसीसीहरु, आयोजक राष्ट्र लक्जेम्बर्ग, प्रायोजकहरु, स्वयमसेवी, पत्रकार, कलाकारलगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *