काठमाडौं । गत बिहीबारदेखि बन्द रहेका सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू पुनः सञ्चालनमा आएका छन् ।
दशैंको लामो बिदापछि सोमबारदेखि खुलेका सरकारी कार्यालयहरूमा अनलाइन प्रणालीमा देखिएको समस्या पुनः सञ्चालनमा आएसँगै सेवाग्राहीहरूले नियमित सेवा लिन थालेका छन् ।
अधिकांश सरकारी वेबसाइटमार्फत सेवा सुचारु भए पनि काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरूमा भने अनलाइन सिफारिस प्रणालीमा समस्या देखिएको छ ।
काठमाडौं महानगरपालिकाको ३१ नम्बर वडा कार्यालयका वडासचिव सुरेश साहु श्रेष्ठका अनुसार अनलाइन प्रणाली नचल्दा सिफारिससम्बन्धी काममा असहजता भएको छ ।
अनलाइन सिस्टममा समस्या आएका कारण सेवाग्राहीको काम नरोकियोस् भनेर कम्प्युटरमा टाइपिङ गरी प्रिन्ट गरेर सिफारिस दिने गरिएको उनले जानकारी दिए ।
विश्वभर वेबसाइट निर्माणमा प्रयोग हुने ‘पीएचपी’ प्रविधिमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू गत बिहीबारदेखि अस्थायी रूपमा बन्द गरिएका थिए ।
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) ले सुरक्षा सूचना जारी गर्दै सम्भावित साइबर आक्रमण र डेटा क्षति हुन नदिन सावधानीस्वरूप ती प्रणालीहरू अफलाइन राखिएको जनाएको थियो ।
तर, प्रोग्रामिङ ल्याङ्ग्वेज ‘पीएचपी’ मा देखिएको प्राविधिक तथा सुरक्षा कमजोरीका कारण सयौँ सरकारी वेबसाइटहरू अस्थायी रूपमा बन्द गरिएका थिए ।
सुरक्षा अपडेट र परीक्षणपश्चात् हाल अधिकांश सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् ।








