होली सुरक्षाका लागि ट्राफिक प्रहरीको विशेष चेकजाँच

news-details

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले होली पर्वका दिन आइतबार सडकको जाँचमा कडाइ गर्ने भएको छ।

विगतका पर्वमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउन ठूलो संख्यामा ट्राफिक प्रहरीहरू खटिने कार्यालयले जनाएको छ। कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यो वर्ष उपत्यका प्रवेश गर्ने नाका र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै जाँचको व्यवस्था मिलाएको छ।

३० ओटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ती तथा चेक प्वइन्ट समेत राखिने कार्यालयले जनाएको छ। दुर्घटनारहित होली पर्व मनाउन र उच्छृंखल गतिविधि समेत नियन्त्रण गर्नका लागि तयार भएको सुरक्षा योजना बमोजिम मुख्य सडक, चोक(गल्लीमा समेत बाक्लो संख्यामा प्रहरी परिचालन गरिनेछ। आइतबार सडकमा ९०० भन्दा बढी प्रहरी खटिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए।

अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाई गरि ठूलो आवाज निकाल्ने, तीनजना चढ्ने, हेलमेट नलगाउने, तीव्रगति र ‘जिगज्याग’ गरी मोटरसाइकल कुदाउने उपर विशेष निगरानी गरिनेछ भने अन्य ट्राफिक नियम उल्लंघन गर्नेलाई समेत कडाइका साथ कारबाही गर्ने उनले जानकारी दिए।

विशेषगरी मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकहरुलाई कडाइका साथ जाँचको व्यवस्था मिलाएको र अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झगडा गर्ने लगायत गतिविधि गर्नेहरूलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वइन्ट राखिने समेत प्रवक्ता श्रेष्ठले जानकारी दिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *