एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्न सफल कञ्चनपुरका ललित सार्कीलाई देउराली फाउण्डेसनले आर्थिक सहयोग गर्ने भएको छ ।
चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका कञ्चनपुरका सार्कीलाई फाउण्डेसनले मासिक १५ हजार रुपैया उपलब्ध गराउने भएको छ ।
छात्रवृत्तिमा नाम निकाल्न सफल भए पनि काठमाडौं बस्नका लागि मासिक १० हजार रुपैयाँ जुटाउन नसकेको भन्दै राससले तयार पारेको समाचार केही दिनअगाडि विभिन् सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए।
उक्त समाचारपश्चात् देउराली फाउण्डेसनले उनलाई आर्थिक स्रोत उपलब्ध गराउने सहमती भएको हो । उनीहरूबीच मंगलबार भएको एक सम्झौतामा फाउण्डेसनले ललितको होस्टेल, खाना र स्टेसनरी खर्चबापत मासिक पन्ध्र हजार रुपैयाँका दरले प्रत्येक महिना गराउने भनिएको छ ।
‘उनको अध्ययन, व्यवहार र परीक्षामा प्राप्त नतिजाका आधारमा यो सम्झौता वर्षै पिच्छे थप गरिनेछ । आशा छ, देउराली फाउण्डेसनको यो छात्रवृत्ति सहयोगले तपाईंको उज्वल भविष्य निर्माण संगै नेपालका दुर्गम ग्रामीण भेगमा गएर सेवा गर्ने उत्प्रेरणा मिल्नेछ’, देउराली फाउण्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।








