हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेँ : प्रधानमन्त्री प्रचण्ड

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल जलवायु परिवर्तनको चपेटामा परेको भन्दै हिमालको आवाजलाई समर्थन गर्न असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुलाई आह्वान गरेको बताएका छन् । युगाण्डामा भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ सम्मेलनमा सहभागी भएर फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा आफूले हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेको बताए ।

‘हिमालयहरु विश्व जनंसख्याको १५ प्रतिशत तथा पृथ्वीको ५० प्रतिशत जैविक विविधताको घर हो । विश्वका जीवित प्राणीहरुका लागि हिमाल अति महत्पूर्ण छ । पर्वतीय मुलुक नेपाल जलवायु परिवर्तनको चपेटामा रहेको छ,’ सम्मेलनमा आफूले आग्रह गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हिमाल तथा पर्वतीय पारिस्थितिक प्रणाली र त्यहाँ बसोवास गर्ने मानव समुदायको संरक्षणका लागि नेपालले पैरवी गर्दै आएको छ । त्यसकारण हिमालको आवाजलाई समर्थन गर्न समेत आव्हान गरेको छु ।’

प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा असंलग्न आन्दोलनमार्फत् आपसी सहयोग तथा समझदारी अभिवृद्धि गरी विश्वव्यापी संमृद्धि हासिल गर्न प्रयास गर्नुपर्नेमा जोड दिएको बताएका छन् । ‘करिब सात दशक अगाडि दुई महाशक्तिबीचको असहज शीतयुद्धको माहोलमा एशिया र अफ्रिका महादेशका नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका आधारभूत मूल्यहरु बाङडुङ सम्मेलनमार्फत प्रतिपादन गरेको स्मरण गर्दै यो असंलग्न आन्दोलनले कैयौँ मुलुकहरुको राजनीतिक स्वतन्त्रताको अभिवृद्धि, औपनिवेशिकताको अन्त्य र सार्वभौमसत्ताको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरालाई जोड दिएँ,’ प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्बोधनबारे जानकारी दिँदै अघि भने, ‘असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो हो । यसबाट आपसी सहयोग तथा समझदारी अभिवृद्धि गरी विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्नेमा जोड दिएँ ।’

प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा नेपालले सार्वभौम समानता, आपसी सद्भाव, आपसी लाभ र द्वन्द्वको शान्तिपूर्ण समाधानको आधारमा सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्वन गर्दै आएको जानकारी गराएको बताए ।

‘मैले सम्बोधनका क्रममा असंलग्न आन्दोलनका सिद्धान्तहरु र यसका मूल्य तथा मान्यता हाम्रा लागि महत्वपूर्ण हुनुका साथै परराष्ट्र नीतिको एक आधारभूत सिद्वान्तको परिपालनाले शान्ति, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारें,’ प्रचण्डको दाबी छ ।

त्यस्तै, कोभिड महामारी पश्चात् विश्वले मृत्यु, अभाव तथा बञ्चितिकरण, विस्थापन लगायतका चुनौतीहरूको सामना गर्नुपरेको भन्दै हाल बढिरहेको भू–राजनीतिक ध्रुबीकरण तथा लडाइँ र जलवायु परिवर्तनको कारण साना तथा विकासशिल राष्ट्रहरू थप मारमा परिरहेको बिषयमा समेत ध्यानाकर्षण गराएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहँदा महत्वपूर्ण भेटघाट र छलफलहरु समेत भएको बताएका छन् । कम्पालाबाट आइतबार विहान राति कतार ओर्लिएका प्रधानमन्त्री दाहाल विहान ९ बजे कतार एयरवेजको विमानबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थल आइपुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रीहरु र उच्च अधिकारीहरु विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.रुपक सापकोटा र परराष्ट्र सचिव सेवा लम्साल पनि युगाण्डा गएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *