मधेश प्रदेशमा आज बलिदानी दिवस मनाइँदै

news-details

मधेश प्रदेशमा आज छैटौँ बलिदानी दिवस मनाइँदैछ । अन्तरिम संविधानमा संघीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।

मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते आजकै दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले सहादत दिएको सम्झनामा मधेस केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रुपमा मनाउँछन् ।

विसं २०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन गरिएको थियो । माघ २ गतेदेखि सुरु भएको सो आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतोको निधन भएको थियो । यसपछि मधेशभर आन्दोलन भएको थियो ।

पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित भएको थियो । सो आन्दोलनलाई मधेशवादीहरुले मधेश जनविद्रोहको सङ्ज्ञा दिने गरेका छन् । त्यही जगमा देशमा संघीयता र संविधान आएको जनाउँदै मधेश प्रदेश सरकार गठन भएदेखि नै यहाँ सहिदको सम्झनामा हरेक वर्ष माघ ५ मा बलिदानी दिवस मनाउने गरिएको हो । त्यसयता विसं २०७४ सम्म पटकपटक भएका मधेश आन्दोलनमा एक सय १७ जनाको ज्यान गएको मधेशवादी दलहरुले दाबी गर्दै आएका छन् तर मधेशी सहिद प्रतिष्ठानसँग ६३ जनाले सहादत प्राप्त गरेको र ७२ घाइते भएको तथ्याङ्क छ ।

बलिदानी दिवसका अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *