असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलन आजबाट सुरु, प्रचण्डले आजै सम्बोधन गर्ने

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै छन् ।

आजदेखि सुरु हुने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डा गणतन्त्रको राजधानी कम्पालामा भोलिसम्म चल्नेछ ।

प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सम्बोधन गरेसँगै युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले आज आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् ।

यस्तै, शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

यसैबीच सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री प्रचण्डले युगाण्डामा रहेका नेपालीहरूसँग अन्तरक्रिया गरेका छन् ।

भेटघाटमा प्रधानमन्त्री प्रचण्डले अफ्रिकामा रहेका नेपालीहरूले उठाएको समस्या महत्पवूर्ण भएको उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन नलिने बताएका छन् ।

‘यहाँ तपाईहरूले केही कुरा उठाउनुभयो। ती महत्वपूर्ण छन्। हिजोमात्रै मैले भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदुतहरू बोलाएर कुरा गरिएको छ’ प्रचण्ड सचिवालयले जनाएको छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले युगाण्डामा रहेका नेपालीहरूले देशको अवैतनिक राजदुतका रूपमा काम गरिरहेको बताउँदै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न अपील गरे ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *