आन्दोलनका कारण बीपी प्रतिष्ठानको उपचार सेवा प्रभावित

news-details

चिकित्सक र कर्मचारीहरुको आन्दोलनका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित बनेको छ ।

चिकित्सक र कर्मचारीहरु आइतबारदेखि काम छाडेर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य उपचार सेवा प्रभावित बनेको हो । ‘रेफरल अस्पताल’ का रुपमा रहेको प्रतिष्ठानमा पूर्वका धेरै स्थानबाट उपचारका लागि बिरामीहरु पुग्ने गरेका छन् ।

प्रतिष्ठान व्यवस्थापनले बढुवा प्रक्रिया अगाडि नबढाएकामा असन्तुष्ट बनेका चिकित्सक र कर्मचारीहरु लामो समयदेखि आन्दोलित छन् । यसअघि भएको आन्दोलनका क्रममा समस्याको समाधान गर्ने आश्वासन दिए पनि त्यसअनुसार पहल नभएपछि उनीहरु फेरि आन्दोलनमा उत्रिएका हुन् ।

आकस्मिक बाहेकका सेवा ठप्प हुँदा उपचारका लागि पुग्ने बिरामीले सहज रुपमा सेवा पाउन सकेका छैनन् ।

यसअघिको आन्दोलनका क्रममा समस्या समाधान गर्ने सहमति भए पनि प्रतिष्ठानमा कायम मुकायम उपकुलपति डा. प्रल्हाद कार्कीका कारण सहमति कार्यान्वयन हुन नसकेको आन्दोलनरत कर्मचारीहरुको भनाइ छ ।

प्रतिष्ठानको शिक्षक कल्याण समाजका उपाध्यक्ष डा. प्रदिप आचार्यका अनुसार सहमतिअनुसार व्यवस्थापनले बढुवा प्रक्रिया अगाडि नबढाएका कारण काम छाडेर आन्दोलनमा उत्रनु परेको हो ।

यसैबीच, प्रतिष्ठानको समस्या समाधानमा चासो नदिएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सोमबार कायम मुकायम उपकुलपति कार्कीको कार्यकक्षमा ताला लगाएका छन् ।

लामो समयदेखि आन्दोलन हुँदा सेवा प्रभावित भएको अवस्थामा पनि समाधान गर्न पहल नगरेको भन्दै उनले कार्यकक्षमा ताला लगाएका हुन् । प्रतिष्ठानलाई धरासायी बनाउने कुनैपनि पदाधिकारीलाई ‘नछाड्ने’ चेतावनी पनि उनले दिएका छन् ।

प्रतिष्ठानका चिकित्सक शिक्षकको सात वर्षदेखि तथा कर्मचारीको १५ वर्षदेखि पदोन्नति प्रक्रिया रोकिएको थियो ।

गत वर्ष पुस १९ गते चिकित्सक र कर्मचारीको पदोन्नतिका लागि विज्ञापन खुलेपछि प्रक्रिया अघि बढेको थियो । पदोन्नति हुनुपर्नेमध्ये आधा चिकित्सक, शिक्षक र कर्मचारीको अन्तर्वार्ता सकिएकोमा कार्की कायममुकायम उपकुलपति भएर आएपछि सबै प्रक्रिया रोकिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *