प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विवादित ‘तपस्वी’ रामबहादुर बम्जनलाई आज पक्राउ गरेको छ।

उनलाई काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

बाराको हलखोरिया जंगलमा तपस्या गरेपछि उनी चर्चामा आएका थिए। पछि उनी विवादमा फसेका थिए।

उनले आश्रममा यौन शोषण गरेको लगायतका उजुरी परेकाले सोही उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी श्रोतको भनाइ छ। विगतदेखि नै प्रहरीले उनको खोजी गरिरहेको थियो।

बम्जनले अनुयायी बेपत्ता पारेको भन्दै पहिलो पटक १२ पुस २०७५ मा जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी परेको थियो । उजुरी पर्नुभन्दा ३ वर्षअघि बम्जनका विश्वास पात्र जसबहादुर वाइवाले जितपुर सिमरा–१८, बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले मगरलाई लिएर गएको परिवारका सदस्यहरुको भनाइ थियो ।

तर, त्यसयता उनी सम्पर्कविहीन रहेको परिवारले दाबी गरेको थियो । बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ ।

उनीहरु सबैलाई सिुन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान थियो । सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै उजुरी समेत परेको थियो ।