जाजरकोट भूकम्पपछि त्रिपालमुनि मृत्यु हुनेको संख्या ३७ पुग्यो

news-details

जाजरकोट भूकम्पपछि चिसोका कारण त्रिपालमुनि मृत्यु हुनेको संख्या ३७ पुगेको छ । हिउँदको कठ्यांग्रिदो चिसो र समयमा उपचार समेत नपाउँदा भूकम्पपीडितहरूले त्रिपालमुनि ज्यान गुमाइरहेका छन् ।

शनिबार मात्रै भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै भेरी नगरपालिका–१, रावतगाउँका कर्णबहादुर विश्वकर्माको मृत्यु भएको छ । ओत् लाग्ने घर भत्किएपछि पाँच जनाको परिवार लिएर विश्वकर्मा त्रिपालमुनि पुगेका थिए । दुई छाकको जोहो गर्नै धौ–धौ पर्ने परिवारका उनलाई एक्कासी भूकम्पले चिसो भुँइमा त्रिपालमुनि धकेलिदियो ।

घरको ओत् छुटेपछि कर्णबहादुर नै परिवारको ओत् बनेका थिए । तर उनलाई कति बेला चिसाले समात्यो ? पत्तै भएन । करिब एक साता चिसोका कारण बिरामी परेका उनी निमोनियाको शिकार बनेका छन् । शुक्रबार जिल्ला अस्पतालमा उपचार नभएर रेफर भएका उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि पु¥याउँदा उपचार गर्न ढिला भइसकेको थियो । कडा खालको निमोनिया भएको भन्दै चिकित्सकले मृत घोषणा गरेको छोरा रुपलाल विश्वकर्माले बताए । ‘त्रिपालमुनिको बास छ, सबैलाई चिसो त लागेकै छ । तर बेलामा उपचार गर्न पनि सकिएन,’ रुपलालले भने, ‘घर भत्किएपछि बुवा नै हाम्रो घर हुनुहुन्थ्यो । अब त हाम्रो पो झन् विचल्ली हुनेभयो ।’

प्रादेशिक अस्पतालमा मृत्यु भएका कर्णबहादुरलाई उपचारका लागि पैसाको समस्या थियो । छोरा रुपलालले मोवाइल बेचेर बुवाको शव निकालेर ल्याएको बताए ।

योसँगै जाजरकोट भूकम्पपछि एकपछि अर्को गर्दै ३७ जनाको मृत्यु भइसकेको छ । १७ कात्तिकमा भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका समेत गरी १५३ जनाको मृत्यु भएको थियो ।

भूकम्पको लामो समय बित्दा पनि त्रिपालमुनि बस्न बाध्य पीडितहरूले अस्थायी टहरो खडा गर्न सकेका छैनन् । जसकारण चिसोकै कारण ३७ जनाको ज्यान गइसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *