भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न १० अर्ब अनुदान दिने

नेपाल र भारतबीच चार सहमतिमा हस्ताक्षर
news-details

भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।

बिहीबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशका बीचमा भएको उर्जा व्यापार सम्झौताअनुरुप भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ अनुदान दिने भएको हो ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले सो कुराको जानकारी दिए । उनले दुई देशका उर्जा सचिवहरुका बीचमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौता भएको पनि बताए ।

त्यस्तै, नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी र न्यु स्पेस इण्डिया लिमिटेडबीच नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमति पनि भएको छ । त्यसैगरी काठमाडौंस्थित भारतीय दुतावासले अब एउटै परियोजनामा २० करोड रुपैयाँसम्म सोझै लगानी गर्नसक्ने पनि सहमती भएको उनले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले १३२ केबी पावर क्षमताका तीन वटा प्रशारण लाइनको उद्घाटन भएको बताए । उनले भैरहवा, रक्सौल–परवानीपुरको सेकेण्ड सर्किट र कुसाहा–कटैता सेकेण्ड सर्किट लाइन उद्घाटन भएको उल्लेख गर्दै यसले नेपाल–भारतकाबीचमा उर्जा आदानप्रदानमा ठुलो सहयोग पुग्ने बताए ।

घिसिङले ट्रान्समिसन लाइनको सम्बन्धमा भोलि चितवनमा उर्जा सचिव तहको बैठक बस्ने पनि जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *