आजको दिन विद्युत व्यापारमा कोसेढुंगा : प्रधानमन्त्री

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएकाले आजको दिन विद्युत व्यापारका दृष्टिले कोसे ढुंगा हुने विश्वास व्यक्त गरेका छन् ।

रामेछापको सुनापति गाउँपालिकामा निर्मित प्रशासकीय भवनको बिहीबार दिउँसो उद्घाटन गर्दै उनले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमति नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को हुने बताए ।

बिहीबारै नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकरको उपस्थितिमा नेपाल–भारत ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौताप्रति उत्साहित प्रधानमन्त्री दाहालले भने, ‘मेरो भारत भ्रमणका क्रममा नै नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्ने सहमति भएको थियो । भारतका विदेशमन्त्रीको भ्रमणले अब नेपालले विद्युत निर्यात गर्ने ठोस सम्झौता भएको छ । यो आफैंमा ऐतिहासिक उपलब्धि हो । भारतमा मात्रै होइन, बंगलादेशसँग समेत विद्युत निर्यातको ढोका खुलेको छ । अब भारतको ग्रिड प्रयोग गरी बंगलादेशसँग विद्युत व्यापार हुनेछ ।’

अर्को प्रसंगमा उनले संसदको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम टुंगोमा पु¥याउन सत्ता गठबन्धनले राष्ट्रिय सहमति चाहेको स्पष्ट पारे ।

‘यो सत्ता गठबन्धन सानो दुःखले बनाएको गठबन्धन होइन, त्यसैले गठबन्धन सुदृढ गर्न हामी सबै दृढ छौं । तर, कतिपय विषयमा राष्ट्रिय सहमति जरूरी हुन्छ, त्यसले मुलुक र लोकतन्त्रको हित नै गर्छ । अहिले हामीले सदनको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी काम टुंग्याउन राष्ट्रिय सहमति चाहेका छौं,’ उनले भने ।

उनले रामेछापका जनप्रतिनिधिलाई सेवा प्रवाह, शिक्षा–स्वास्थ्यको विकास, कृषि–पर्यटनको प्रवर्धन र रोजगारी सिर्जनामा केन्द्रित हुन अपील पनि गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *