राष्ट्रिय सभा निर्वाचनः एमालेलाई सहभागी गराउन देउवा र प्रचण्ड लचक, नेपाल कठोर

news-details

आसन्न राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई सहभागी गराउने विषयमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लचक देखिएका छन् ।

बिहीबार बालुवाटरमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा शान्ति प्रक्रिया टुंग्याउनका लागि बनेको टीआरसी विधेयकमा एमाले सहमत भए राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न सकिने अध्यक्ष प्रचण्डको धारणा थियो ।

तर, एमालेलाई राष्ट्रिय सभामा सहभागी गराउन नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अनिच्छुक देखिएका छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव केही लचक भएका छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहालले नेकपा एमालेले राष्ट्रिय सभामा ६ सिट मागेको ब्रिफिङ गर्दा एमालेलाई सहभागी गराउनुको कारण सोधेका थिए ।

बिहानको बैठक मुलतः राष्ट्रिय सभा निर्वाचनमा केन्द्रित भएको र थप छलफलका लागि साँझ फेरि भेटघाट गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने, ‘राष्ट्रिय सभा निर्वाचनदेखि लिएर समसामयीक राजनीतिक विषयमा छलफल भएको छ । थप छलफल गर्न बाँकी छ त्यसका लागि साँझ बस्ने गरि उठेका छौं ।’

प्रमुख सचेतक रमेश लेखकले एमालेलाई राष्ट्रिय सभामा सहभागि गराउने विषयमा छलफल गर्न विहीबार(आज) साँझ कांग्रेस, माओवादी र एमालेको बैठक बस्ने बताए ।

एमालेलाई राष्ट्रिय सभामा सहभागी गराउनेबारे संवाद कहाँ पुग्यो भन्ने सञ्चारकर्मीको प्रश्नमा लेखकले भने,‘यो लोकतन्त्रमा संवाद, सहमति, सहकार्य भन्ने कुरा त कहाँ टुंगिन्छ र ? एमालेसँग राजनीतिक विषयमै छलफल भइरहेको र गठबन्धनभित्र राष्ट्रिय सभाकै विषयमा छलफल भइरहेको हो ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *