नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकै लापरबाहीका कारण भएको बताएका छन् ।

आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको बताएका हुन् । सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिले मन्त्रीको लापरबाहीलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने बताए ।

उनले भने, ‘त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै यो जबरजस्ती हो । चरम लापरवाही हो, हेपेको हो। सामान्य व्यक्तिले गर्ने लापरवाहीले त कतिथोक व्यहोर्नुपर्छ। त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरबाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो। यो समितिले मन्त्रीको लापरबाही हेर्छ कि हेर्दैन ?’ उनले लापरबाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने बताए ।

यस्तै उनले श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको बताए । उनले साउनदेखिको इपिएसको विषय सम्बोधन नगर्नु सरकारको लापरबाही भएको बताए।

महामन्त्री थापाले माईतीघरको निषेधित क्षेत्र तत्काल खारेज गर्न पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे। उनले माइतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको बताए।

महामन्त्री थापाले बालकुमारी घटनाका परिवारलाई राज्यले उचित क्षतिपूर्तिसहित उनीहरुको जीवन हेर्नेगरी अघि बढ्न सुझाव दिए।