सरकारले ललितपुरको बालकुमारी घटनाबारे छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को आकस्किम बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्य उच्चस्तरीय छानबिन आयोग गठन गरेको हो। आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्व एआइजी अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई छन् । आयोगलाई एक महिनाको कार्यअवधि दिइएको छ।

गत शुक्रबार इपीएस मार्फत कोरिया जान परीक्षामा सहभागी हुन पाउनुपर्ने भन्दै भएका आन्दोलनमा प्रहरीले गोली चलाउँदा दुई युवाको मृत्यु भएको थियो। घटनापछि सरकारले ईपीएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ। यस्तै घटनाको छानविन नसकिँदासम्मका लागि भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवार र सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल पनि निलम्बनमा परेका छन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र प्रहरी प्रमुख सिद्धिविक्रम शाह प्रहरी हेड्क्वाटर तानिएका छन्।