नेपाली कांग्रेसले आज सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै छ ।
प्रज्ञा भवन कमलादीमा दिउँसो १ बजे हुने मेलमिलाप दिवसको कार्यक्रममा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस वर्षको कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर लगायले सम्बोधन गर्ने जनाइएको छ ।
कांग्रेस संस्थापक नेता बीपी कोइरालाले २०३३ पुष १६ मा राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ ।
लोकतन्त्र प्राप्तिका लागि आन्दोलन, बृहत शान्ति सम्झौताका पक्षधर लगायत विभिन्न राजनीतिक दलहरूको उपस्थितिमा कांग्रेसले आज ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागेको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।








