सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०-१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार बैठकले शुक्रबारको घटनाबारे दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको छ ।

घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने र भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा निकाय र अन्य सम्बद्ध निकायलाई थप सतर्क संयमित तथा प्रभावकारी बनाउने निर्णय पनि भएको मन्त्री शर्माले जानकारी दिइन् ।

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा गम्भीर लापरबाही देखिएको भन्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको बताए ।

ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय समेत भएको उनले बताए ।

शुक्रबार कोरियाली भाषाको परीक्षामा सहभागी गराइनुपर्ने माग राखेर प्रदर्शन गरिरहेका युवाहरूमाथि प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु थियो ।

घटनाको विरोधमा आज शनिबार राजधानीका काठमाडौं, ललितपुरसहित देशभर सरकारविरुद्ध प्रदर्शन भइरहेको छ ।