उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ।
न्यायाधीश कृष्णराम कोइरालाको आजको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए।
यही मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएपछि खाँणबारेको निर्णय रोकिएको थियो।
खरेलले खाँणलाई थुनामै राख्नुपर्ने राय दिएका थिए भने पाण्डेले ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए। दुई न्यायाधीशबीच राय बाझिएपछि तेस्रो न्यायाधीशकोमा निर्णयको अधिकार सरेको थियो।













