नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को टोली आज धनकुटा आइपुग्ने भएको छ।

एमाले मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित संकल्प यात्रा १५ औं दिनमा धनकुटा आइपुग्न लागेको हो।

नेकपा एमाले धनकुटा प्रचार तथा प्रकाशन विभागले पत्रकार सम्मेलन गरेर यात्राका क्रममा धनकुटामा हुने सबै कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको छ।

संकल्प यात्राको टोलीलाई बिहान ९ बजे लेगुवामा स्वागत गर्ने कार्यक्रम रहेको छ । यात्रा टोलीले लेगुवा, पाख्रिबास, हिले, जोरपाटी र सिधुवामा हुने कार्यक्रमहरूमा सहभागि हुँदै दिउँसो बसन्तपुर पुगेर वृहत् आमसभा गर्ने तयारी रहेको जनाइएको छ ।

एमालेले मंसिर १४ गते बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्ग केन्द्रित शुरु गरेको संकल्प यात्रा धनकुटा आइपुगेको हो । यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ ।