प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, सरकारले राम्रो काम गर्दा गर्दै पनि चौतर्फी घेराबन्दी सहनु परेको गुनासो गरेका छन् ।
सोमबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी निकट पत्रकार संगठन प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै उनले सरकारविरुद्ध श्रखलावद्ध आक्रमण भएको बताए ।
‘सरकारविरुद्ध अर्को ठाउँबाट प्रहार हुँदैछ’, उनले भने, ‘सरकारका राम्रा काम लुकाएर बदनाम गर्न खोजिँदैछ, आक्रमण गरिँदैछ।’ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकारले सक्दो प्रयास गरिरहेको बताए ।
सरकारको काम केही समुहलाई मन नपरेकोले षड्यन्त्र भइरहेको उनको दाबी छ ।
‘नोकरशाही र दलालहरूलाई यी कुरा मन परेका छैनन्। हाम्रो लडाइँ टुंगिएको छैन’, उनले भने, ‘हामी सुधारको प्रयासमा छौँ। लोकतन्त्र र अहिलेको व्यवस्था बलियो बनाएर प्रतिक्रियावादीहरूलाई टाउको उठाउन दिँदैनौँ।’ प्रधानमन्त्री प्रचण्डले भने ।
सरकारको प्रयासकै कारण अर्थतन्त्र सुधार हुन थालेको उनको भनाई छ । सरकारले राम्रो काम गरिरहेकाले डराउनु पर्ने अवस्था नरहेको उनको भनाई छ ।
‘जतिसुकै घेराबन्दी भए पनि राष्ट्र र जनताप्रति इमान्दार हुँदा कसैको केही लाग्ने रहेनछ । अब विकास निर्माणका काममा पनि परिणाम देखिँदै जान्छ । सरकारको तर्फबाट हुन सक्ने र गर्न सक्ने काम गरिँदैछ, गर्दै जान्छौँ’ उनले भने ।








