प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोचेजस्तो शासकीय सुधार गर्न नसकेको स्वीकार गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार ललितपुरमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’ विषयक अन्तरक्रियामा  बोल्दै प्रधानमन्त्री प्रचण्डले आफनो निर्देशन अनुसार सुधारको काम हुन नसकेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सरकार गठन भएको एक वर्ष पुग्न लाग्दा सरकारले सुशासन, प्रशासन र अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित रहेको तर परिणाम जनता सन्तुष्ट हुने ठाउँमा नपुगेको बताए ।

‘सोचेजस्तो शासकीय सुधारको काम गर्न सकिएन । अब खाली प्रशासकीय मात्रै होइन । समग्र शासकीय प्रणालीमा नै सुधार गर्ने कुरामा हामी छलफल गरेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘शासकीय सुधार आयोग निर्माण गरेर यसको समग्र समीक्षा गर्ने र अगाडि जाने प्रक्रियातिर हामी छौं । हामीले सेवा प्रवाहको क्षेत्रमा साना–साना कामहरुमा सुधार गरेर अनि ठूला–ठूला कामहरुलाई प्रायोटाइज गरेर जान जरुरी छ ।’