सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा त्यहाँ रहेका नेपालीहरूको मागबमोजिम राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

साथै, बैठकले सनिल नेपाललाई राजदूतमा सिफारिस गरेको छ । बैठकले पोर्चुगलमा नेपाल राजदूतावास स्थापना गरी सनिल नेपाललाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । पोर्चुगलमा हाल २० हजारभन्दा धेरै नेपालीहरू बसोबास गरिरहेका छन् । उनीहरूले लामो समयदेखि अलग्गै दूतावास कार्यालय स्थापना गर्न माग गर्दै आएका थिए ।

गत भदौं २५ र २६ गते बसेको प्रधानमन्त्रीसहितको बैठकले कुटनीतिक नियोग स्थापना गर्ने निर्णय गरेको थियो । उक्त बैठकले पोर्चुगल, रोमानिया, माल्टा, साईप्रस, क्रोएसिया, माल्दिभ्स, पोल्याण्ड, टर्की लगायतका देशमा तत्काल ड्राई पोस्टिङ गर्ने निर्णय गरेको थियो । त्यसका लागि परराष्ट्र मन्त्रालयले दुई महिनाभित्रमा प्रकृया अगाडि बढाउने निर्णय गरेको थियो । सोही आधारमा मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने निर्णय गरेको हो ।