जाजरकोट केन्द्र भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ।

नेपाल प्रहरीका अनुसार जाजरकोटमा १ सय र रूकुम पश्चिममा ३८ जनाको मृत्यु भएको हो।

हालसम्म १ सय ६६ जना घाइते भएका छन्। जाजरकोटमा ८१ र रूकुम पश्चिममा ८५ जना घाइते भएका प्रहरीले जनाएको छ।

घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ। उनीहरूलाई नेपाल एयरलायन्सको उडानबाट काठमाडौं ल्याउन लागिएको नेपाल प्रहरीले जनाएको छ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्र भएर ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पका कारण दुई जिल्ला ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

सुरक्षा निकायका तीन वटै संयन्त्र उद्दार‚ राहत र उपचारमा केन्द्रित भएका छन्। नेपाल प्रहरीबाट ८ सय ५९ जना खटिएको र आवश्यक पर्दा थप परिचालनका लागि तयारी अवस्थामा रहेको जनाइएको छ।