विश्वकप छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको पहिलो लेगको खेलमा एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै नेपालले बराबरी गरेको हो । नेपालका लागि अन्जन विष्टले कीर्तिमानी गोल गर्दै खेल बराबरी गरेका थिए ।
यससँगै उनी नेपालका सर्वाधिक गोलकर्ताको कीर्तिमानमा बराबरी गर्न सफल भए । विष्ट सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक १३ गोल गर्ने राष्ट्रिय कीर्तिमान बराबरी गर्न सफल भएका हुन् ।
लाओसविरुद्ध ४८ औं मिनेटमा गोल गर्दै अन्जनले अन्तर्राष्ट्रिय गोल संख्या १३ पुर्याएका हुन् । यसअघि हरि खड्का र निराजन रायमाझीको नाममा सर्वाधिक गोलको कीर्तिमान थियो ।
अन्जनको गोलसँगै विश्व कप छनोटमा १–१ को बराबरी भएको हो । लाओसले पहिलो हाफमा गोल गरेको थियो ।
अब नेपालले लाओसमा अर्को खेल खेल्नेछ । लाओसमा हुने खेल गोलरहित बराबरी भएमा लाओस दोस्रो चरणमा पुग्ने छ भने जित या २ गोल भन्दा बढीको बराबरीले नेपाल अघिल्लो चरणमा पुग्ने छ ।
यस खेलको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । जहाँ ९ समूहमा ४–४ टिम हुनेछ र होम एण्ड अवेका आधारमा ६ खेल खेल्न पाउनेछ ।








