सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले हमासको आक्रमणमा ज्यान गुमाएकाहरुका परिवारलाई तत्काल १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीमध्ये १० जनाको निधन भएको छ । ४९ विद्यार्थीमध्ये केही निरन्तर सम्पर्कमा आउन थालेका छन।
राजदूतावासका अनुसार ४ जना घाइते छन् भने एकजना सम्पर्कविहीन छन।
यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यहाँ रहेका विद्यार्थी विपिन सुवेदीसँग भिडिओ वार्ता गरेका थिए ।
यस्तै आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा मंगलबार सार्वजनिक विदा दिने निर्णय भएको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय पनि गरेको छ ।








