काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलबाट सोधपुछको लागि सोही ठाउँमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको हो ।
गएराति तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा हत्या भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो ।
दोलखा घर भई हाल काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको हत्या भएको थियो ।
प्रहरीका अनुसार कुमार, अम्बिका र शुभद्रा एकै परिवारका हुन् । शवलाई परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








