संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा प्रतिनिधि सभा र राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बसेको प्रतिनिधीसभा बैठकमा सभामुख देवराज घिमिरेले नेम्वाङको निधनले सिंगो मुलुक स्तब्ध बनेको बताए । मृदुभाषी सरल, सहज र समन्वयकारी नेम्वाङको मंगलबार भएको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको सभामुख घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावमा उल्लेख छ ।

बैठकमा सभामुखले २० को दशकयता लोकतन्त्र र गणतन्त्रका ल्याउनका लागि भएको आन्दोलनमा नेम्वाङले सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै संविधानसभा मार्फत नेपालको संविधान बनाउन नेम्वाङले नेतृत्वदायी भूमिका खेलेका बताए ।

आज बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै अर्को बैठक शुक्रबारलाई बोलाइएको छ । घिमिरेले भने, ‘प्रतिनिधि सभाको अर्को बैठक भाद्र २९ गते दिउँसो १ बजे बस्ने गरि यो बैठक स्थगित हुन्छ ।’

हृदयघातका कारण मंगलबार निधन भएका नेम्वाङको आज पशुपतिमा अन्तेष्टि गरिएपछि प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित भएको हो ।

यस्तै बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले शोक प्रस्ताव पारित भएको बताउँदै असोज १२ गते दिउँसो १ बजेर १ मिनेट बस्ने गरी बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
उनले भने, ‘राष्ट्रिय सभाको यो बैठक भदौं १२ गते दिउँसो १ बजेर १ मिनेटका लागि स्थगित हुन्छ ।’

अध्यक्ष तिमलसिनाले नेम्वाङको निधनप्रति शोक प्रकट गर्दै भने, ‘संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा भदौं २६ गते निधन भएकोमा राष्ट्रिय सभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ ।’
बैठकमा नेम्वाङको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो ।