संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित राजनैतिक दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

एमाले पार्टी कार्यालय च्यासल पुगेर प्रधानमन्त्रीले नेम्वाङलाई श्रद्धाञ्जलीको फूल चढाएका हुन् । यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जली दिएकी छन् ।

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतका शीर्ष नेताका साथै विभिन्न दलका नेताहरु र शुभेच्छुकले नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन् ।

च्यासलस्थित पार्टी मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमा श्रद्धासुमन व्यक्त गर्न नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ ।

आज दिनभर नेम्वाङको शव पार्टी कार्यालयमा राखिनेछ ।