प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, वैदेशिक रोजगारीमा रहेका युवाहरूको भविष्यको लागि गम्भीरतापूर्वक लागिरहेको बताएका छन् ।
सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका युवाहरुको भविष्यबारे नसोचिकन देशको परिवर्तन नहुने भन्दै उनीहरुको सुरक्षा, आत्मसम्मान र रोजगारी सिर्जना गर्न सरकार गम्भीरतापूर्वक लागेको बताए ।
उनले भने, ‘यसपटक मेरो सबैभन्दा धेरै चासो र चिन्ता विदेशमा रहेका लाखौं नेपाली युवाहरूप्रति छ । उनीहरूको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन । त्यसैले यसपटक के गरी उनीहरूको हितरक्षा हुन्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसमा गम्भीरतापूर्वक लागेको छु । विदेशमा रहेका लाखौं युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रक्रिया सुरू गरेका छौँ । केही महिनाभित्र विदेशमा रहेका २५ लाख नेपाली युवाहरूलाई कोषमा आवद्ध गर्छौं।’
उनले देशभित्रै केही गर्न चाहाने युवाहरूको लागि वातावरण बनाउने जिम्मेवारी राज्यको भएको भन्दै त्यसको लागि १३ देशमा कार्यरत नेपाली राजदूत बोलाएर अन्तरक्रिया सुरू गरेको बताए ।
‘आजबाट विभिन्न १३ देशमा कार्यरत नेपाली राजदूत बोलाएर अन्तरक्रिया सुरू गरेको छु । विदेशमा रहेका नेपाली कामदारहरूका समस्या के छन् र कसरी सम्बोधन गर्ने भन्ने गम्भीर छलफल गर्छौं’ सचिवालयले जनाएको छ ।
सामाजिक न्याय, सुशासन र समृद्धिबाट नै समाजवादको आधार तयार पार्न सकिने भन्दै त्यसको लागि सरकारले कठोर कदम चालेको उनले बताए ।
प्रदेशको नामाकरणबारे बोल्दै सामाजिक सद्भाव खल्बलाउने र जातीय द्वन्द्व भड्काएर परिवर्तनका उपलब्धी उल्टाउने बहाना खोजिरहेका अवस्थामा विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकिने उनको भनाई छ ।
उनले सामाजिक सञ्जालमा समाजका सबैभन्दा खराब पात्र नै नेता बनाउन खोजिँदैछ, यो देशको भविष्यकै निम्ति गम्भीर कुरा भएको भन्दै सचेत हुन आवश्यक भएको बताए ।
सन्देश सभामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतले सम्बोधन गरेका थिए ।








