सरकारले बिजनेस नै दिन नसकेपछि राष्ट्रिय सभा बैठक अनिश्चित, प्रतिनिधिसभा बैठक २७ गते मात्रै

news-details

सरकारले सदनलाई विधेयक दिन नसकेपछि संसद् बिजनेसविहीन भएको छ ।

सरकारसँग बैठक नियमित चलाउने कुनै एजेन्डा नभएपछि राष्ट्रिय सभाको बैठक बस्ने मिति नै अनिश्चित भएको छ ।

भोलीका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक एजेन्डा नै नभएपछि संसद् सचिवालयले सूचना निकालेर बैठक स्थगित गरेको छ । राष्ट्रिय मात्र होइन प्रतिनिधि सभा सञ्चालनका लागि समेत एजेन्डा नभएपछि प्रतिनिधिसभाको बैठक पनि एक सातापछि मात्रै बस्ने गरी मिति तय गरिएको छ । प्रतिनिधि सभाको बैठक भदौ २७ गतेका लागि बोलाइएको छ ।

भोलिका लागि तय भएको राष्ट्रिय सभा बैठक कारणवश स्थगित भएको संघीय संसद्का महासचिव भरतराज गौतमले सूचनामार्फत शुक्रबार जानकारी दिए ।

भदौ २४ गते आइतबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन नहुने उल्लेख गर्दै उक्त सूचनामा भनिएको छ, ‘सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

सरकारले कुनै विधेयक ल्याउन सकेको छैन् । संघीय संसदका दुवै सदनको बैठक नियमित सञ्चालनमा लागि सरकारसँग न विधेयक छ न एजेण्डा नै ।

प्रतिनिधिसभामा ल्याउन लागिएको एकमात्र विधेयक पनि कानुन, न्याय तथा मानवअधिकार समितिमा अड्किएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयक पनि सरकारले संसदमा ल्याउन सकेको छैन् । टीआरसी विधेयक आउँदो भदौ २७ गतेभित्र संसदमा लैजाने गरि काम टुंग्याउने तयारी समितिको छ ।

तर, उक्त विधेयक संसदमा छलफलका लागि नल्याउँदासम्म प्रतिनिधिसभा पनि बिजनेसविहीन बनेको छ । संसदमा छलफल गर्ने विधेयक, एजेण्डा नभएकै कारण प्रतिनिधिसभाको बैठक २७ गतेका लागि डाकिएको छ । ०७९ मंसिर ४ को निर्वाचनपछि बनेको सरकारले प्रतिनिधिसभा सुरु भएको आठ महिनामा पाँचवटा विधेयक मात्रै अघि बढाएको छ । यो अवधिमा मिटरब्याजसम्बन्धी विधेयक मात्रै संसदबाट पारित भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *