चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. झालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।

हालका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको चारवर्षे कार्यकाल सकिएपछि सरकारले आयोगको नयाँ कार्यकारी उपाध्यक्ष नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको थियो । १६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय समिति गठन गरेको थियो।

आवेदकहरूबाट सिफारिस समितिले तीनजनाको नाम मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो। जसमा हालका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी, पूर्व स्वास्थ्यसचिव डा. प्रवीण मिश्र र डा. झा रहेका थिए। तीमध्ये मन्त्रिपरिषद्ले झालाई आयोगको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको हो।

झा स्वास्थ्य अनुसन्धान परिषद्का पूर्व सदस्यसचिव तथा चिकित्सक संघका पूर्व अध्यक्ष हुन्।

यसअघि आयोगको उपाध्यक्षका लागि ९ जनाको आवेदन परेको थियो। उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आवेदन दिएका ९ जनासँग भदौ १७ र १८ गते अन्तरवार्ता​ र प्रस्तुतीकरण हेरेको थियो।