काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन)साहले बुद्धि, विवेक पुर्याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिएका छन ।
बिहीबार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले बुद्धि, विवेक पुर्याएर काम गर्न प्रहरीलाई निर्देशन दिएका हुन । उनले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गर्न पनि आग्रह गरे ।
मेयर साहले नगर प्रहरीलाई हिम्मतले काम गर्न पनि आग्रह गरे । प्रमुख साहले नगर प्रहरीले कुनैपनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दवावबिना काम गरिरहेको उल्लेख गर्दै यसप्रति महानगरपालिकाको सबै जनप्रतिनिधि खुशी भएको बताए ।
मेयर साहले महानगरपालिकाले १५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचनाहरु हटाएर सुशासन कायम गराउन लागेको उल्लेख गर्दै यस काममा नगरप्रहरीको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । काठमाडौं महानगरपालिकाको कामले देशभर नै त्यस प्रकारको निर्णय गराउन सफल भएको पनि उनले बताए ।
मेयर साहले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि राजनीतिक दवावमा नआइकन काम गर्न सकेमा शहरमा सुशासन ल्याउन सकिने भन्दै प्रहरी नेतृत्वलाई आग्रह समेत गरे ।








