सुदूरपश्चिम प्रदेशमा आज धुमधामका साथ गौरा पर्व मनाइदैछ ।

सुदूपश्चिमवासीले धुमधामका साथ मनाउने गौरापर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने चलन छ । सुदूरपश्चिमका ठूलो पर्वको रूपमा स्थापित यस यस पर्वमा सरकारले देशभर गौरा पर्व मनाउने समुदायलाई सार्वजनिक विदा दिने गरेको छ । सुदूर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व भएकोले सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेशमा सार्वजनिक विदा दिने गरेको छ ।

गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर यो पर्वको थालनी गर्ने चलन छ । जस्लाई विरुडा भनिन्छ । यस दिन महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन्। गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने चलन छ ।

बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउने गरिन्छ । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने चलन छ ।

गौरा भित्र्याइसके पछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा गाउँदै चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्।

काठमाडौंमा पनि यस दिन सुदूरपश्चिमवासीहरुले धुमधामका साथ यो पर्व मनाउने गर्छन ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्व, २०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलको तर्फबाट जारी गरिएको शुभकामना सन्देशमा भनिएको छ ‘ साँस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीहरूमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोंच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना प्रकट गर्दछु ।’

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । गौरा पर्वको अवसरमा शुभकामना दिँदै उनले यस अवसरमा खेलिने डेउडा र अन्य सांस्कृतिक गतिविधिले गौराको सम्पन्नतापूर्ण सांस्कृतिक ओजलाई झनै बढाउने विश्वास व्यक्त गरेका छन ।

‘यस पर्वमा समाजका सम्पूर्ण सदस्य घरपरिवारमा एकत्रित हुने र सामूहिकरूपमा समुदायपिच्छे मुख्य चाडका रूपमा मनाउने परिपाटीले सामाजिक सद्भाव, समुदायको एकता तथा आपसी सहकार्यसहित सामाजिक सम्बन्धलाई जीवन्त बनाउन विशेष भूमिका खेलेको छ’ शुभकामना सन्देशमा उनले भनेका छन् ।