संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हिमाल आरोहीहरुको सुरक्षा र संरक्षणका लागि कानुनमै व्यवस्था गरिने बताएका छन ।

केटु हिमाल आरोहण गरेर फर्किएका संखुवासभाका एकै परिवारका चारजना कीर्तिमानी दाजुभाईलाई सम्मान गर्दे उनले सरकारले हिमाल आरोहीहरुको संरक्षणका लागि कानुनमै व्यवस्था गर्ने बताएका हुन । शेर्पा र हिमालको सम्बन्ध नङ र मासुको भएको उल्लेख गर्दे उनले नेपाललाई विश्वसामु चिनाउन शेर्पाहरुको भूमिका महत्पूर्ण रहेको पनि बताए ।

पर्यटन क्षेत्रमा सुधार ल्याउन पुरानो पर्यटन नीति र ऐन कानुन बाधक भएको भन्दै मन्त्री किरातीले चाडै समयसापेक्ष ऐन ल्याउने पनि बताए । उनले संखुवासभाले हिमाल आरोहीको जिल्ला भनेर परिचय बनाएको भन्दै एकै घरका चारदाजुभाईको किर्तिमानले नेपालको शिर उच्च बनाएको बताए ।

कार्यक्रममा संखुवासभाका सांसद दिपक खड्काले पर्यटन क्षेत्रमा हिमाल आरोहणको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए । यस्तै पूर्वसांसद राजेन्द्र गौतमले आरोहिको संरक्षण र सुरक्षा हुन नसक्दा धेरै आरोहीहरु बिदेश पलायन हुन थालेको धारणा राखे । कोशी प्रदेशका सांसद राजेन्द्र कार्कीले कोशी प्रदेशलाई पर्यटनको हबको रुपमा बिकास गरिने बताए । प्रख्यात हिमाल आरोही तथा पर्यटनबिद मिङमा शेर्पाले आर्थिक क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्रलाई सरकारले चिन्न नसकेको बताए ।

कार्यक्रममा पाकिस्तानमा रहेको बिश्वकै दोस्रो अग्लो हिमाल केटु हिमाल आरोहण गरेर नयाँ बिश्वकीर्तिमान कायम गर्ने मुक्तु शेर्पा, आङदावा शेर्पा, निग्मा दोर्ची शेर्पा र पिच्यूम्बी शेर्पालाई पर्यटन मन्त्री किरातीले सम्मान गरेका थिए । कार्यक्रम संखुवासभा–काठमाडौ पत्रकार समाजले गरेको थियो ।