कतारमा स्थापित नेपाली व्यवसायी महेन्द्रप्रसाद चम्लागाईंले पत्रकार सहारा उपचार कोषलाई दुई लाख एक रुपैयाँ सहयोग गरेका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा चम्लागाईंले आइतबार उक्त रकम सहयोग प्रदान गरेको महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिए । महासंघको वैंक खातामा चम्लागाईंले कतारबाटै उक्त रकम जम्मा गरिदिएका हुन् ।
नेपाली व्यवसायी संघ कतारका अध्यक्ष चम्लागाईंले पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने पत्रकारहरुलाई घाइते र विरामी हुँदा उपचार खर्च दिने पत्रकार उपचार कोषको प्रशंसा गर्दै चम्लागाईंले उक्त अक्षयकोषलाई लक्ष्य अनुसार एक करोडको पु¥याउन आफ्नो तर्फबाट सहयोग गरेको बताए ।
झापा बाह्रदशी ७ का स्थायी वासिन्दा चम्लागाईं अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष पनि हुन् । उनी २७ वर्षदेखि सपरिवार कतारमै वस्दै आएका छन् । झापाली समाज कतारका संरक्षक रहेका उनको व्यवसायिक फर्म उडल्याण्ड कन्ट्राक्टिङ कम्पनी हो । चम्लागाईंले नेपाल चेम्बर अफ कमर्शको कतार प्रतिनिधिसमेत हुन् ।
महासंघका अध्यक्ष गिरीले कोषमा सहयोग गरेकोमा चम्लागाईंलाई धन्यवाद ज्ञापन गरे ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ७५ लाख जम्मा भएको छ ।








