वनको संरक्षण, सम्बर्द्धन, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षणमा पुर्याएको योगदानको उच्च कदर गर्दै २०८० को गणेश बहादुर शाही संरक्षण राष्ट्रिय पुरस्कार डिभिजन वन कार्यालय, मोरङका शसस्त्र वन रक्षक सुबेदार कुमार बस्नेतलाई प्रदान गरिएको छ ।
वन तथा भू-संरक्षण विभागले आयोजना गरेको समारोहमा बस्नेतलाई पुरस्कृत गरिएको हो । बस्नेतलाई ताम्रपत्र तथा नगद ५० हजार रुपैयाँ राशिको पुरस्कार वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र प्रसाद महतोले प्रदान गरेका हुन् ।

देश भरका वन मन्त्रालयका कर्मचारीबीच आन्तरिक प्रतिस्पर्धामार्फत छनौट गरिने उक्त पुरस्कार यसपटक बस्नेतलाई प्रदान गरिएको हो ।
सलकपुर मोरङका स्थायी वासिन्दा बस्नेतले वन कार्यालयमार्फत राष्ट्रसेवामा प्रवेश गरेको तीन दशक भयो ।
पुरस्कार प्राप्त भएपछि राज्यले गरेको सम्मानप्रति खुशी व्यक्त गर्दै अझ उत्साहका साथ काम गर्ने हौसला मिलेको बस्नेतको भनाइ छ ।








