‘एमालेको सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन । सच्चा पार्टी सदस्यकोअभिलेख अद्यावधिक गर्ने क्रममा यस पटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य संख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् ।’ नेकपा एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले साउन ४ गते जारी विज्ञप्तिको अशं हो ।

पार्टीको आगामी महाधिवेश सम्ममा एमाले दश लाख बढि सदस्य बनाउने लक्ष्य राखेको छ । तर, नयाँ राजनीतिक दलप्रति युवाको बढ्दो आकर्षणसँगै पुरानो दलहरूले केही गरेनन् भन्ने असन्तुष्टि बढ्दो छ ।

नेकपा एमालेमा मात्र होइन नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका पुराना दलप्रति पार्टीकै नेता तथा कार्यकर्ताको विकर्षण बढ्दो छ । त्यसले गर्दा पार्टी छाड्ने र निस्क्रिय बस्ने क्रमले पुराना दलमा तीब्रता पाएको छ । त्यसको असर एमाले अझ धेरै परेको एक पदाधिकारीले जनाए ।

पार्टीभित्र फरकमतको अस्थित्व नै नहुँदा नेता तथा कार्यकर्ता पलायन हुने क्रम सुरु भएको जनाउँदै त्यसलाई रोक्न हम्मेहम्मे परेको ती पदाधिकारीको दाबी छ । सबैभन्दा धेरै गण्डकी र लुम्बिनीमा ६०/६५ प्रतिशत मात्र सदस्य नवीकरण भएको जनाउँदै ती पदाधिकारी कोशी र बागमती प्रदेशमा ५०/५० प्रतिशत मात्र सदस्यता नवीकरण भएको छ । त्यस्तै, मधेस प्रदेश र कर्णलीमा सबैभन्दा कम ३० प्रतिशत सुदूरपश्चिम प्रदेश ३५ प्रतिशत मात्र सदस्यता नवीकरण भएको एमाले स्रोतको दाबी छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि संगठन विस्तारका लागि पार्टीले विभिन्न चरणको अभियान सञ्चालन गर्दासमेत सकारात्मक प्रभाव पर्न नसकेको निष्कर्षसहित प्रदेश अधिवेशनमार्फत संगठनलाई चलायमान र नयाँलाई जिम्मेवारी दिने एमालेले रणनीति बनाएको ती पदाधिकारीको दाबी छ । सोही अनुसार एमालेले असोज १५ गतेभित्र प्रदेश अधिवेशन सक्ने तयारी गरेको छ ।

गण्डकी बाहेक सबै प्रदेशेको अधिवेशनको मिति तोक्दै उसले कोशीमा असोज १२ र १३, मधेशमा असोज ५ र ६, बागमतीमा ८ र ९,लुम्बिनीमा भदौ १६ र १७, कर्णालीमा भदौ २९ र ३० र सुदूरपश्चिममा भदौ २२ र २३ गते गर्ने भएको छ ।

एमाले विधानले प्रदेश कमिटीसहितको कार्यकाल ४ वर्षको हुने व्यवस्था गरेपनि त्यसअघि नै अधिवेशन गर्न लागेको हो । यसअघि २०७८ माघ ८ गते सातै प्रदेशमा एकै दिन अधिवेशन आयोजना गरेको थियो । जिल्ला र वडा अधिवेशन पनि एमालेले एकै दिन गरेको थियो । अधिवेशनले प्रदेश कमिटीको आकारसमेत घटाउने एमाले तयारी छ ।