नेकपा एमालेको २३औँ सचिवालय बैठक आज बसेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजन अनुसार कामको मूल्याङ्कन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसंगठनको कामको अवस्थाबारे छलफल गर्दै ६ वटा समसामयिक प्रस्ताव पारित पारित गरेको छ ।
बैठकले वर्तमान सत्ता गठबन्धनले संविधानको उल्लंघन गरेको, संवैधानिक संस्थाहरूमा हस्तक्षेप गरे तथा निष्प्रभावी बनाएको निष्कर्ष निकालेको छ ।
यस्तै, किसानहरूलाई अत्यन्तै प्रताडित बनाइरहेको लम्पी स्किन रोगको रोकथाममा सरकार उदासिन बनेको, मिटरव्याजसम्बन्धी विधेयक छलफल र पारित गर्न सरकारले नै आनाकानी गरिरहेको, विश्वविद्यालयहरूमा सत्तापक्षकै विद्यार्थीले तालाबन्दी गरेर हस्तक्षेप गरिरहेको तथा स्वायत्त र गैरराजनीतिक संस्थाहरूमाथि समेत सरकारले हस्तक्षेप बढाएको ठहर गरेको छ ।
साथै, अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट प्रभावितलाई राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गरी जनजीवन सहज बनाउन एमालेले सरकारलाई आग्रह गरेको छ ।








