एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टिम पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको छ । पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै नेपालले दिएको १८० रनको लक्ष्य भेट्टाएको हो।

पाकिस्तानका लागि मोहम्मद तय्यब ताहिरले सर्वाधिक ५१ रन बनाए । ६७ बल सामना गरेका उनले ६ चौका प्रहार गरे । त्यस्तै ओमार बिन युसुफले ३६ रन बनाउँदा कमरन गुलामले ३१ रन बनाए । सायम आयुबले २४ रन जोडे ।

नेपालका लागि ललित राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिए ।

यसअघि टस जितेर श्रीलंकाको कोलम्बो क्रिकेट क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।

नेपालका लागि नवौं नम्बरमा आएका ब्याटर सोमपाल कामीले ७५ रन बनाए भने ओपनिङ ब्याटर कुशल भुर्तेलले १ रन, आरिफ शेखले १२ रन, अर्जुन साउदले १७ रन, कप्तान रोहित पौडेलले ४ रन, पवन सर्राफले १ रन बनाए भने भीम सार्की रनको खाता नखोली पेभेलियन फर्किए । यस्तै प्रतिशले २६ रन बनाए भने आसिफ शेख र कुशल मल्लले १७/१७ रन बनाए ।

पाकिस्तान ‘ए’ का लागि साहनवाज दहनीले ५ र मोहम्मद वासिमले ४ विकेट लिए ।

यस प्रतियोगितामा एसियाली क्षेत्रका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले युवा खेलाडीलाई प्राथमिकता दिँदै ‘ए’ टोली पठाउने गरेका छन् भने एसोसिएटबाट छनोट भएर आउने राष्ट्रले राष्ट्रिय टोली पठाउँदै आएको छ ।