गत बुधबारबाट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायत प्रतिपक्षी दलको अवरोधका कारण स्थगित हुँदै आएको संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक आज सोमबारका लागि पनि बोलाइएको छ ।

यसअघि हिजो बोलाइएको प्रतिनिधि सभा बैठक सोमबारसम्मका लागि स्थगित गरिएको थियो ।

राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध भएपछि सोमबार बिहान ११ः०१ बजेसम्मका लागि स्थगित भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै भारतले नेपालको प्रधानमन्त्री बनाउने गरेको संकेत गर्दै आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले नेपालको स्वाभिमान, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामाथि आँच आएको र प्रधानमन्त्रीले पदमा बस्ने नैतिक अधिकार गुमाएको भन्दै एमालेले राजीनामा माग गर्दै संघीय संसदको दुवै बैठक अवरुद्ध गर्दै आएको हो ।

अवरुद्ध भएर स्थगित हुँदै आएको प्रतिनिधि सभा बैठक आज अपरान्न तीन बजेका लागि बोलाइएको छ ।

यसअघि हिजोनै संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक बसेको थियो ।

अवरोध खुलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बसेको बैठकले सहमति जुटाउन सकेन । सहमति नजुट्दा आज बस्ने भनिएको दुवै सदनको बैठक पनि अवरुद्ध हुने देखिएको छ ।

हिजो नै संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीका कारण संसद अवरुद्ध हुँदै आएको बताएका थिए ।

ओलीले सदन सञ्चालन गर्न आफूहरू सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरू फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गरे । उनले प्रधानमन्त्रीको जेष्ठ २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ती रहेको बताए । अध्यक्ष ओलीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्ने स्पष्ट पारेका थिए ।