कोशी प्रदेशमा ३ जना मन्त्रीले आइतबार नियुक्त भइ पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङ्ले माओवादीका जीवन आचार्य र राजेन्द्र कार्की तथा कांग्रेसका रामकुमार खत्रीलाई शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री उद्धव थापाले तीन जनालाई मन्त्री नियुक्त गरेर पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरी ६ सदस्यीय बनाएका हुन् ।

उनले मोरङका आचार्यलाई आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त गरेका छन् भने कार्की र खत्रीलाई विनाविभागिय मन्त्री नियुक्त गरेका छन् ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार कांग्रेसबाट ओखलढुंगाका प्रदिपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी)बाट पाँचथरका कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेर सपथ लिएका थिए । यद्यपी मन्त्रीपरिषद बिस्तारबारे एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ ।

यता प्रदेशको नयाँ सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै एमालेले सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन दायर गरेको छ । उक्त निवेदन माथि सुनुवाइका लागि सर्वोच्च अदालतले आइतबारको पेशी तोकेको छ ।