प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सहित प्रतिपक्ष दलहरुको अवरोध पछि आइतबार स्थगित बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक हेटौंडा स्थित प्रदेश सभा भवनमा बिहान ११ बजे बस्नेछ ।
गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०/०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन् ।
प्रदेश सरकारले मनोमानी ढंगले, अवैज्ञानिक तथा असन्तुलित हिसाबले बजेट प्रस्तुत गरेको भन्दै प्रतिपक्षी दलहरुले बैठक अवरुद्ध गर्दै आएका छन् ।
यसअघि हिजो दिउँसो २ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो गरी अपरान्ह ४ बजे सुरु भएको थियो ।
बैठकको सुरुवातमै बोल्दै नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले प्रदेश सरकारले ल्याएको बजेट जनहित र स्वीकार्य नभएको भन्दै संशोधन गर्नुपर्ने उल्लेख गरे ।
गोसाईको सम्बोधन पछि एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो । हिजो नै अर्को बैठक साँझ ५ बजेका लागि राखिएको थियो । तर बैठक नै बस्न नसकेपछि आज बिहान ११ बजेका लागि सारिएको हो ।
प्रतिपक्ष दलहरुले बजेट संशोधन नभएसम्म बैठक अवरोध गरिरहने जनाएका छन् ।
हिजो आइतबार नै प्रमुख प्रतिपक्ष दल एमालेले पत्रकार सम्मेलन गर्दै बजेट संशोधन नगरे सम्म बैठक चल्न नदिने बताएको छ । दलका नेता जगन्नाथ थपलियाले बजेट राजनीतिकरुपमा पूर्वाग्रही रहेको भन्दै बजेटले प्रदेश हितको काम नगर्ने बताए ।
उनले सरकारले ल्याएको बजेट मुख्यमन्त्री र सिमित मन्त्रीका निर्वाचन क्षेत्रमामा मात्र केन्द्रिकृत भएको भन्दै भन्दै बजेटलाई संसोधन नगरेसम्म बैठक अवरुद्ध जारी राख्ने बताए ।








