नारायण–सत्यरुपा गिरी बंशावली समाजको प्रथम साधारणसभा भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौमा सम्पन्न समाजको साधारणसभामा बंशावली समाजको इतिहास, पारिवारिक विवरण र छरिएर रहेका सन्ततीहरुको विस्तृत विवरण समेटिएको पुस्तकसमेत विमोचन गरिएको थियो ।
समाजका अध्यक्ष ध्रुवराज गिरीको सभापतित्वमा सम्पन्न साधारणसभामा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य एवं प्राज्ञ डा. मधुसुदन गिरीको प्रमुख आतिथ्यता तथा नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष हिमाल गिरीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा अतिथिकारुपमा नेपाल दशनामी समाजका केन्द्रिय सदस्य राजिव गिरी, हिरा गिरी, साधुराम गिरी, चुडा प्रसाद चौलागाई लगायत समाजका जेष्ठ सदस्यहरु एवं विशिष्ट व्यक्तित्वहरु रहनुभएको थियो ।

साधारणसभामा बोल्नुहुदै प्रमुख अतिथी तथा प्राज्ञ डा. मदुसुदन गिरीले बंशावली समाजले तयार गरेको पुस्तक ऐतिहासिक रहेको बताउनुहुदै छरिएर रहेका सन्तान एकत्रित गर्ने र आफ्नो बंशजको इतिहास भावि पुस्ताका लागि छाडने यो कदम उदाहरणीय रहेको बताउनुभयो ।

साधारणसभामा बोल्दै जिल्ला पंचायत सदस्य विक्रमराज गिरीले बंशावलीले आफुले गर्न सक्ने सहयोग आफ्नाका साथै बाहिर निस्किएर पनि गर्न सक्ने बन्नुपर्ने धारणा राख्नुभयो । यस्तै बंशावली समाजको परिकल्पना गरेर सुरुवात गर्ने अग्रजहरुप्रति आभार प्रकट गर्दे डा. रविन्द्र गिरीले झण्डै २ सय १५ वर्ष अघिको पुस्ताका छरिएर रहेका सन्तानहरुलाई एकतामा बाध्ने काम अनुकरणीय रहेको बताउनुभयो ।

नेपाल दशनामी समाजका उपाध्यक्ष हिमाल गिरीले बंशावलीले एउटा वंश बृक्षको निरन्तरतालाई अगाडि बढाउने र यो भावि सन्ततीका लागि पनि ज्यादै महत्वपूर्ण र जरुरी रहेको बताउनुभयो । उहाँले बंशावली हाडनाता नमिचियोस भनेर पनि तयार गरिने बताउनुहुदै यसले आफ्ना नाताकुटुम्बलाई एकताको सुत्रमा बाध्ने काम गर्ने धारणा राख्नुभयो ।

समाजका सचिव हरिराम गिरीले संचालन गरेको साधारणसभामा अध्यक्ष ध्रुवराज गिरीले समाजको अहिलेसम्मको गतिविधी र प्रगतिविवरण प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको आर्थिक प्रतिवेदन देव गिरीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बंशावलीका जेष्ठ सदस्यहरुलाई खादा ओडाएर सम्मान गरिनुका साथै समाजको अक्षयकोषमा सहयोग पु¥याउनुहुने सदस्यहरुलाई प्रमाणपत्र र खादाले सम्मान समेत गरिएको थियो । कार्यक्रममा बंशावली सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

साधारणसभाले आगामी कार्यकालका लागि तदर्थ समितिका अध्यक्ष ध्रुवराज गिरीको अध्यक्षतामा तदर्थ समितिलाई नै नयाँ कार्यसमितिमा अनुमोदन गरेको छ । जस अनुसार बरिष्ठ उपाध्यक्षमा माधवराज गिरी, उपाध्यक्षमा यादवराज गिरी, सचिवमा हरिराम गिरी, कोषाध्यक्षमा यसोधा कार्की गिरी, सहसचिवमा दिपकराज गिरी तथा सदस्यहरुमा देव कुमार गिरी, रीता गिरी, कल्पना गिरी, अर्जुन गिरी र अकुर गिरी चयन भएका छन ।

सिन्धुपाल्चोकको पाल्चोक भोर्ले भन्ने ठाँउबाट वि.सं. १८७० ताका नारायण गिरी र सत्यरुपा गिरीको सन्तानहरु काभ्रेको चौरीदेउराली हुदै विभिन्न जिल्लामा पुगेकोमा उनीहरुलाई एकत्रित गरेर एकआपसमा भाईचाराको सम्वन्ध स्थापना गर्न नारायण–सत्यरुपा गिरी बंशावली समाज गठन गरिएको हो ।








