नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरि बूढामगरलाई सम्मान गरेका छन् ।
बिहीबार धुम्वाराहीस्थित सभापति देउवा निवासमा सम्मानपत्रसहित खादा ओढाएर बूढामगरको सम्मान गरिएको हो । त्यस अवसरमा देउवाले हरि बुढामगर देशको निधि भएको बताए ।
उनले भने ‘उहाँले खुट्टा गुमाउनु भएतापनि उहाँले साहस गुमाउनु भएको छैन । उहाँले गर्नु भएको काम राष्ट्रको लागि गौरवको कुरा हो । तपाईको बुवा पार्टीमा काम गरे पनि तपाई पार्टीमा मात्र सीमित हुनुहुन्न, तपाई देशकै निधि हो । काँग्रेस पार्टी र सम्पूर्ण नेपालीको तर्फबाट बधाई छ ।
बेलायती सेनामा कार्यरत हुँदा दुवै खुट्टा गुमाएका बूढामगरले गत जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेका थिए ।
सम्मानित बुढामगरले अपांगताको क्षेत्रमा जागरण ल्याउन आफूले सगरमाथाको आरोहण गरेको बताए । उनले यस क्षेत्रमा सरकारलाई केही गर्न आफ्नो अभियानले सचेत गराएको विश्वास पनि व्यक्त गरे ।
‘सरकारले दुई वटा हात, दुई वटा खुट्टा र दुई वटै आँखा नभएकालाई सगरमाथा जान ब्याण्ड गरेको थियो । त्यो ब्याण्ड गरेपछि हामीले सर्वोच्च अदालतमा गएर मुद्दा लडेका थियौं । र, त्यो मुद्दा जितेर सगरमाथा चढेको र अहिले मैले सरकारलाई पनि यस क्षेत्रमा केही काम गर्न सचेत गराएको महशुस गरेको छु ।’








