राष्ट्रपति रामचन्द्र पौडेलको तस्विर पहिलो पटक सगरमाथाको चुचुरोमा पुर्याउने महिला आरोहि याङजी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिएका छन । आज राष्ट्रपति भवन शितल निवासमा भएको कार्यक्रममा आफ्नो तस्विर बिश्वकै अग्लो चुचुरो सगरमाथामा पुर्याएर सप्राईज दिएको भन्दै उनले महिला आरोहिको साहस र आँटको प्रशंसा गरे ।
उनले हिमाल आरोहणमा नेपाली महिलाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै राष्ट्रको सम्मानको लागि आरोहिहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको पनि बताए ।
हिमाल आरोहि याङजी शेर्पाले आफूले सरप्राईज दिनकै लागि राष्ट्रपति पौडेलको फोटो थाहै नदिई चुचुरोमा पुर्याउन पाउँदा खुशी लागेको बताइन । उनले सो अवसरमा सगरमाथाको चुचुरोमा राष्ट्रपति पौडेलको तस्विर पु¥याएको फोटो पनि हस्तान्तरण गरिन ।
संखुवासभा मकालु गाउँपालिकाकी याङजीले पौडेल राष्ट्रपति हुनु अगावै नयाँ राष्ट्रपतिको तस्विर सगरमाथाको चुचुरोमा पुर्याउने संकल्प लिएकी थिइन । अन्य साना कुनै पनि चुचुरो नचढी उनले एकै पटक सगरमाथाको सफल आरोहण गरेकी हुन । एकै पटक हिमाल आरोहण चुनौतिपूर्ण भए पनि पायोनियर एड्भान्चर ट्रेक मार्फत आरोहण गरेकी शेर्पाले वातावरण प्रतिकुल मौसम र हिम पहिरोको सामना गर्दे राष्ट्रपति पौडेलको तस्विर र नेपालको नयाँ नक्सा एकैपटक सगरमाथाको चुचुरोमा पुर्याउन पाउँदा गौरव लागेको बताइन ।
पायोनियर एडभान्चर ट्रेकका डाईरेक्टर तथा कीर्तिमानी आरोहि मिङ्मा दोर्ची शेर्पाले आफ्नो कम्पनीबाट हिमाल आरोहण गर्ने महिलाहरुको संख्या उल्लेख्य रहेको र प्रतिकुल मौसमका कारण पनि हिमाल आरोहण गराएको बताए ।
कार्यक्रममा संखुवासभाका सांसद दिपक खड्काले हिमाल आरोहणमा नेपाली महिलाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले हिमाल आरोहणको क्षेत्र असुरक्षित भए पनि साहस र हिम्मतको सबैले कदर गर्नु पर्ने बताए ।








