नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको आजबाट अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा पक्राउ परेकाहरुको आजबाट अदालतमा बयान सुरु हुन लागेको हो ।
गत सोमबार प्रहरीले आफनो अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाए पछि सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।
सरकारी वकिलको कार्यालयले पक्राउ परेकाविरुद्ध ठगी, राज्य विरुद्धको अपराध, किर्ते र संगठित ठगी मुद्दा चलाएको छ ।
शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी प्रहरी हिरासतमा छन् ।
पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना फरार छन् ।








