सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ।
मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। राष्ट्रियसभा सदस्यहरूले छलफलमा उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए।
सत्तापक्षीय सांसदले यसको समर्थन गरे भने नेकपा एमालेसहित विपक्षी दलले विरोध गरेका थिए। सत्तापक्षको बहुमत भएकाले नीति तथा कार्यक्रम पारित भएको हो। सांसदहरु तुलसाकुमारी दाहाल, विमला घिमिरे र डा।विमाल राई पौडेलले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकम सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।








