सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार मन्त्रिपरिषद विस्तार गरेका छन । मुख्यमन्त्री नियुक्त भएको सय दिनपछि उनले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन ।
नवनियुक्त मन्त्रीमा नेपाली कांग्रेसका बझाङबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेकपा (माओवादी केन्द्र) का अछामबाट निर्वाचित झपटबहादुर साउद सामाजिक विकासमन्त्री र कैलालीबाट निर्वाचित माओवादीकै रमेशसिंह धामी उद्योग, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको छ।
माओवादीबाटै डडेलधुराकी समानुपातिक प्रदेश सभा सदस्य गीतादेवी माललाई उद्योग, वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरिएको छ । मुख्यमन्त्री शाहसमक्ष राज्यमन्त्री माललेसमेत शनिबार नै पद तथा गोपनीयताको शपथग्रहण गरेकी छिन ।
शपथ ग्रहण कार्यक्रममा सभामुख भीमबहादुर भण्डारी, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्री नरेशकुमार शाही र प्रदेश सभा सदस्य सहभागी थिए ।
रेशम चौधरी संरक्षक रहेको उन्मुक्ती पार्टीले दुई वटा मन्त्रालय मागेपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली राखिएको छ ।
सरकार विस्तारपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक पार्टी चाँडै सरकारमा सामेल हुने बताए ।
सुदूरपश्चिम प्रदेशमा मन्त्री सात र राज्यमन्त्री तीन गरेर १० जनालाई मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ । शनिबार मन्त्रिपरिषद विस्तार भएपछि सो संख्या सात पुगेको छ। सातमध्ये छ जना मन्त्री र एक राज्यमन्त्री छन्।
नेपाली कांगेसका संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा रहेको सरकारमा सुरुदेखि नै कांगे्रसकै प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाही आर्थिक मामिलामन्त्री छन।








